सूचनाको भारी र आजका विद्यार्थी
रूस–युक्रेन युद्धको पछिल्लो अवस्था, अमेरिका–इरान हानाहान, एआईको नयाँ चमत्कार, बालेनको नयाँ स्टाटस, छिमेकीको कौसी खेती, परिचित–अपरिचितका नयाँ टिकटक र रिल, सहकर्मीको भ्रमण आनन्द, आजको राशिफल आदि सबै विषयबारे पलपलमा अपडेट गराउने सामाजिक सञ्जाल आज हाम्रा अभिन्न मित्र बनेका छन्। फुर्सद हुँदा या कामको समय चोरेर पनि हामी यस्ता सञ्जालमा अभ्यस्त भइरहेछौं। तर के तपाईंले अनुभव गर्नुभएको छ, यस्ता सूचनाको अत्यधिक भारले हामी थिचिंदै गएका छौं ? सामाजिक सञ्जाल तथा डिजिटल मादकताले मन्द विष झैं हाम्रो स्मरण शक्ति र सिर्जनशीलतालाई क्रमशः मारिरहेको— वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
बालबालिकादेखि किशोर, युवा, प्रौढ र वृद्धहरू पनि हिजोआज सूचना र जानकारीको बोझबाट थिचिंदै गएका छन्। यसबाट विशेषगरी विद्यार्थी समुदाय बढी पीडित रहेको र भविष्यमा यसका दीर्घकालीन असरहरू तिनमा देखापर्ने तर्फ शैक्षिक मनोविद्हरूले सचेत गराइरहेका छन्। सूचनाको भारी भनेको मानव मस्तिष्कको क्रियाशील स्मरण शक्तिले सम्हाल्न सक्नेभन्दा बढी जानकारी वा कामको भार एकैचोटि आउँदा उत्पन्न हुने समस्या हो। विद्यार्थीलाई पढाइको भारीमाथि सामाजिक सञ्जाल र इन्टरनेटको दुनियाँले थप बोझ् थोपरेका छन्।
शिक्षाशास्त्रीहरूले सूचना र जानकारीको यस्तो मानसिक बोझलाई संज्ञानात्मक अधिभार भन्ने गरेका छन्। यसै भएर पनि यसलाई शिक्षाशास्त्रको संज्ञानात्मक भारको सिद्धान्तसँग जोडेर व्याख्या गरिन्छ। यसले सिकाइका क्रममा विद्यार्थीको मानसिक क्षमताभन्दा बढी सूचना दिइँदा सिकाइ प्रभावहीन हुन्छ भन्ने तथ्यलाई उजागर गर्छ।
संज्ञानात्मक भार सिद्धान्त सन् १९८० दशकको मध्यतिर अष्ट्रेलियाली शिक्षा मनोवैज्ञानिक जोन स्वेलरले प्रतिपादन गरेका हुन्। यस सिद्धान्तले मानिसको सन्देश ग्रहण गर्ने मस्तिष्क प्रणाली र संरचनाको प्रकृति, क्रियाशील स्मरण र दीर्घकालीन स्मरण बीचको अन्तरसम्बन्ध तथा सन्देशको बोझले सिकाइमा पार्ने प्रभावलाई महत्व दिन्छ। स्वेलरका अनुसार, सिकाइ त्यतिबेला सबैभन्दा प्रभावकारी हुन्छ, जब शिक्षण प्रक्रियाले क्रियाशील स्मरणको सीमित क्षमतालाई सम्मान गर्दै अनावश्यक बोझ् घटाउँछ र ज्ञानलाई दीर्घकालीन स्मृतिमा व्यवस्थित गर्न सहयोग पुर्याउँछ।
जब पाठ्यवस्तु धेरै जटिल हुन्छ, छिटो-छिटो पढाइन्छ वा विद्यार्थीको स्तरभन्दा माथि हुन्छ, तब उनीहरू अलमल, थकान र निराशा अनुभव गर्छन्, त्यस्तो अवस्था नै सूचना बोझ् बनेको संकेत हो।
संज्ञानात्मक अधिभारका प्रमुख कारण
बालबालिका या विद्यालयका सन्दर्भमा सूचना-भारको मुख्य कारण अत्यधिक पाठ्य बोझ् हो। सीमित समयमा धेरै विषयको शिक्षण तथा प्रत्येक विषयका धेरै गृहकार्य बालबालिकाका लागि बोझ् बन्छन्। हाम्रो शिक्षा प्रणाली परीक्षा-केन्द्रित भएकाले सबै पाठ्यवस्तु परीक्षाका लागि स्मरणमा राख्नु अनिवार्य हुन्छ र यो विद्यार्थीका लागि झनै बोझिलो बन्छ।
शिक्षकले कक्षामा ‘कापी झिक’, ‘शीर्षक लेख’, ‘किताबको पेज नम्बर २५ पल्टाऊ’, ‘त्यहाँको चित्र हेर’, ‘प्रश्न पढ’ र ‘उत्तर लेख’ भनेर एकैपटक निर्देशन दिए भने के होला ? कक्षा-१, २ का बालबालिकाले पहिलो वा दोस्रो वा अन्तिम निर्देशन मात्र सम्झन सक्छन्। बाँकी बिर्सन्छन्। उनीहरूको दिमागले एकैपटक यति धेरै सूचना वा निर्देशन ग्रहण गर्न सक्दैन। यसलाई पनि मानसिक बोझ्को अवस्था भन्न सकिन्छ।
अर्को उदाहरणः कक्षा-१ का बालबालिकाले भर्खरै व्यञ्जन वर्ण चिनेका छन्। शिक्षकले एकै दिनमा (आकार, ह्रस्व इकार, दीर्घ इकार, ह्रस्व उकार, दीर्घ उकार, एकार, ऐकार, ओकार, औकार) (ा, ,ि ी, ु, ू, े, ै, ो, ौ) सबै मात्रा सिकाउन खोजे भने के होला ? धेरैजसो बालबालिकाले मात्रा मिलाउन सक्दैनन्। अक्षरहरू गडबड गर्छन्। कारण उनीहरूको दिमागले नयाँ सिकाइलाई क्रमशः व्यवस्थित गर्न समय चाहन्छ । एकैपटक हुँदा त्यो बोझ बन्छ।
मानसिक भारको अर्को कारण डिजिटल उपकरण पनि हुन्। मोबाइल, इन्टरनेट, अनलाइन सामग्री, भिडियो लगायत एकैचोटि धेरै स्रोतको पहुँच विद्यार्थीका लागि भार बनिरहेका हुन्छन्। उदाहरणका लागि विद्यार्थी गृहकार्य गरिरहेको छ, त्यही बेला मोबाइलमा सन्देश आइरहेका छन्, टिभी पनि चलिरहेको छ। यस्तो बेला उसको ध्यान बारम्बार भंग हुन्छ। दिमागले एकै समयमा धेरै काम सम्हाल्न खोज्दा उसमा थकान र अलमल बढ्छ।
शिक्षकको तीव्र गतिको पढाइ र अव्यवस्थित सामग्रीले पनि शिक्षण विधिलाई बोझ्लिो बनाइदिन सक्छ। एउटा दृष्टान्तः कक्षा-८ का विद्यार्थी पहिलो पटक जलवायु परिवर्तनबारे पढ्दै छन्। विज्ञान शिक्षकले एकै दिनमा हरितगृह ग्यास, कार्बन उत्सर्जन, ग्लोबल वार्मिङ, ओजोन तह, जैविक विविधता र अन्तर्राष्ट्रिय सम्मेलनसम्मका सबै विषय पढाइदिए। यसमा विद्यार्थीले धेरै कुरा सुने पनि मुख्य कुरा के हो भन्ने नै बुझन सक्दैनन्। एक पटक धेरै जानकारीले दिमागलाई नै अलमल्याई दिन्छ। यसैले तीव्र गतिको सिकाइ पनि मानसिक बोझ् हो। यस्तै, अव्यवस्थित सामग्री प्रयोग पनि सिकारुका लागि भार बन्न सक्छ। जस्तो, शिक्षकले बोर्डमा लेख्दैछन्। मुखले व्याख्या पनि गर्दैछन्। प्रोजेक्टरमा स्लाइड पनि चलिरहेको छ। विद्यार्थीले कापीमा नोट पनि उतार्नु परेको छ। यस्तो बेला विद्यार्थीको ध्यान चारैतिर बाँडिन्छ। परिणामस्वरूप उसले न राम्रोसँग सुन्न सक्छ, न लेख्न सक्छ वा बुझन नै सक्छ।
त्यसमाथि पनि हरेक बालबालिकामा प्रतिस्पर्धाको दबाब कायम रहेको हुन्छ। परीक्षामा राम्रो गर्ने, साथीलाई जित्नुपर्ने, राम्रो अंक ल्याएर अभिभावक तथा शिक्षकलाई खुशी पार्नुपर्ने, करिअरको तनाव, समाजको अपेक्षा जस्ता कारणले पनि उनीहरूमा बोझ् थपिरहेका हुन्छन्। हालैका अनुसन्धानहरूले पनि विद्यार्थीहरूमा मानसिक थकान, ध्यान अभाव र तनाव बढिरहेको देखाएको छ। डिजिटल शिक्षणले सिकाइ सजिलो बनाएको भए पनि यसले अधिक सूचना बढाएको छ। अनि मानसिक भारले सिकाइ क्षमता घट्छ र उपलब्धि कमजोर हुन्छ। विशेषगरी अनलाइन कक्षा, मल्टी टास्किङ पढाइ, मोबाइल, सामाजिक सञ्जाल, छिटो-छिटो सूचना उपभोग लगायतले विद्यार्थीलाई लगातार मानसिक दबाबमा पारिरहेका छन्।
सूचनाको बोझका प्रभाव
सूचनाको अत्यधिक बोझले सिकाइमा गिरावट ल्याउँछ। पढे, सिकेका कुरा बुझन गाह्रो हुन्छ। स्मरण शक्ति कमजोर हुन्छ। यसले गर्दा परीक्षा राम्रो नहुन सक्छ। परीक्षा राम्रो नहुँदा शिक्षक, अभिभावक, विद्यालय र समाजको अपेक्षामा नै असर पर्छ। जसले गर्दा बालबालिकामा नैराश्य बढ्न सक्छ। यसको समयमै उपचार वा नियन्त्रण भएन भने डिप्रेसनको अवस्थासम्म आउन सक्छ।
मानसिक र भावनात्मक मात्र होइन मानसिक भारले शारीरिक असर पनि पर्ने मनोविद्हरूको भनाइ छ। यसले थकान महसुस गराउँछ। राम्ररी निद्रा पर्दैन। शरीरमा ऊर्जा कम भएको महसुस हुन्छ र काम गर्ने जाँगरमा कमी आउँछ। कुनै विषयमा प्रतिक्रिया दिन पनि ढिलो हुन्छ। टाउको दुख्नुका साथै आँखा सुक्खा हुने, पोल्ने र चाँडै थाक्ने हुन्छ। मुटुको धड्कन बढ्ने, पसिना आउने, सास छिटो चल्ने जस्ता असर पनि देखिन थाल्छ।
बालबालिकामा बारम्बार हाई काढ्ने, बसेको ठाउँमा स्थिर नहुने र छटपटिने, झुकेर बस्ने, झर्को मान्ने, टाउको दुःखेको गुनासो गर्ने जस्ता लक्षण देखिने मनोविद्हरूको भनाइ छ।
मानसिक भार कसरी घटाउने ?
मानसिक भार आज सबैका लागि समस्या बनेको छ। सामाजिक सञ्जाल र स्क्रिनमा बिताउने समय कम गर्नु, काम र सिर्जनामा केन्द्रित हुनु, पर्याप्त सुत्नु, धेरै पानी पिउनु, सकारात्मक सोच राख्नु, बिहान चाँडै उठ्नु, व्यायाम, योग, ध्यान गर्नु आदि यो समस्याबाट मुक्त हुने आधारभूत सवाल हुन्।
विद्यार्थीका हकमा शिक्षा प्रणालीले अब केवल धेरै होइन, सही तरिकाले पढाउने विधिमा ध्यान दिनु आवश्यक छ। विद्यालयमा सरल र संरचित पाठ्यक्रम अपनाउनु, शिक्षणमा कम नै पर्याप्त अर्थात् लेस इज मोर सिद्धान्तलाई व्यवहारमा ल्याउनु उपयुक्त हुन्छ। दृश्यात्मक र चरणबद्ध शिक्षण अपनाउँदा पनि विषयवस्तु ग्रहण गर्न सहज हुन्छ। शिक्षकले जानकारी सानो–सानो भागमा दिने तथा उदाहरण र क्रियाकलाप आधारित शिक्षण गर्न सके त्यो स्वाभाविक रूपले दिगो स्मरणमा रहन सक्छ।
अभिभावकले पनि बालबालिकालाई अनावश्यक दबाब नदिने र डिजिटल प्रयोगलाई नियन्त्रण गर्नु वाञ्छनीय छ । विद्यार्थी स्वयम्ले चाहिं एकैचोटि धेरै काम नगर्ने (मल्टी–टास्किङ घटाउने), ब्रेक लिएर पढ्ने, ध्यानको अभ्यास गर्ने गर्यो भने अधिभारबाट जीवन र सिकाइलाई सहज बनाउन सकिन्छ।
निष्कर्ष
मानिसको दिमाग एउटा सानो टोकरी जस्तै हो। टोकरीमा जति भार अटाउँछ त्यसले त्यति मात्र सजिलै थेक्न सक्छ। त्यसमा एकैपटक धेरै भार राखियो भने सामान खस्न थाल्छ। त्यसैगरी बालबालिका वा जो-कोही मानिसले पनि एकैचोटि धेरै जानकारी, धेरै निर्देशन वा धेरै कामको चाप पर्दा उनीहरू अलमलिन्छन्। बिर्सन्छन्। र सिकाइ प्रभावकारी हुँदैन। यही अवस्थालाई अधिक मानसिक बोझ्को अवस्था भनिन्छ। यस्तो अवस्थाबाट मुक्त रहनु सबैका लागि फाइदाजनक हुनेछ।
शिक्षक मासिक, २०८३ साउन अंकमा प्रकाशित ।



