अरनिको बल्ल खुल्दैछ उनको व्यक्तित्व
नेपालमा राष्ट्रिय विभूतिका रूपमा स्थानीय तेह्रौं शताब्दीका कलाकार अरनिकोको योगदान, कलाकारितामा मात्रै सीमित थिएन। उनको व्यक्तित्व बहुप्रतिभाशाली थियो। अरनिकोको जीवनी र योगदानको चर्चा गरिएका चिनियाँँ र तिब्बती भाषाका विभिन्न स्रोतको अध्ययनबाट उनका बारेमा यसअघि यथेष्ट जानकारीमा आइनसकेका अनेक नयाँ तथ्य खुलेका छन्।
सन् १२४४ मा नेपालको राजपरिवारमा जन्मेका अरनिको १६ वर्षको उमेरमा ८० जना नेपाली कलाकारहरूको नेतृत्व गर्दै तिब्बत पुगेका थिए। उनले त्यसबेला तिब्बतको साक्या गोन्पा (बोलीचालीमा गुम्बा भन्ने गरिएको भए पनि तिब्बती भाषाको आगन्तुक शब्द गोन्पा नै हो।) हुँदै चीनको पञ्चशीर्ष पर्वतसम्म पुगेर नेपाली शैलीका चैत्य र मन्दिरहरूमा मूर्ति र चित्रहरू बनाए। नेपालबाट गएको दुई वर्षपछि बेइजिङ पुगेर बाँकी जीवन उनले चीनमै बिताए। चीनको सियाङ्शानमा ६२ वर्षको उमेरमा उनको देहान्त भएको थियो।
अरनिकोको निधन भएको दश वर्षपछि, सन् १३१६ मा चिनियाँ भाषामा लेखिएको स्मृति–लेख नै उनको जीवनी समेटिएको सबैभन्दा पुरानो स्रोत हो। ७०० वर्षभन्दा अगाडिदेखि लिपिबद्ध उक्त स्मृति–लेख तथा त्यसपछि लेखिएर हालसम्म सुरक्षित रहेका ऐतिहासिक ग्रन्थ र अभिलेखहरूले चीनमा उतिबेलै स्थापित अरनिकोको शक्तिशाली व्यक्तित्वलाई नेपालीमाझ् उजागर गर्छन् ।
प्रथमतः उनी नेपालको सामान्य नागरिक मात्र नभई राजपरिवारको सदस्यका रूपमा कलाकारहरूको अगुवाइ गर्दै चीन पुगेर बौद्ध धर्मको भिक्षु र उच्च तहका ध्यानाभ्यासी समेत भए। क्रमशः त्यहाँका सम्राटको विश्वास जित्दै गएका उनलाई आफ्नो राजकीय क्षमताले चीनको प्रधानमन्त्री समानको पदीय हैसियतमा पुर्याएको ज्ञात हुन्छ। यो लेख अरनिकोको जीवनी र योगदान बारे उल्लेख भएका चिनियाँ र तिब्बती भाषाका हालसम्म उपलब्ध प्राचीन स्रोतहरूमा आधारित भएर तयार पारिएको छ ।
चिनियाँ भाषाका स्रोत
युआन वंशका सम्राट अयुर्वर्द/रेन्जोङको आदेश अनुसार छेङ् जुफु नामका विद्वान्ले सन् १३१६ मा लिआङ् गुओ मिन्हुई गोङ शेन्दओ बेइ (लिआङका सामन्त मिन्हुईको स्मृतिमा राखिएको स्तम्भ–लेख) मा आनिगे (अरनिको)को नेपाली पृष्ठभूमि र उनले चीनमा गरेका महŒवपूर्ण कार्यहरूको चर्चा गरिएको छ। यो नै हालसम्म उपलब्ध सबैभन्दा पुरानो दस्तावेज हो। यसैको आधारमा सोङ लियान आदि लेखकहरूले युआन वंशको इतिहास लेख्दा अरनिकोको विषयमा पनि लेखेका छन्। ‘कलाकार अरनिको’ नामक ग्रन्थ लेख्ने क्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पनि छेङ जुफुकै ग्रन्थको आंशिक प्रयोग गरेका छन्। सन् १९९४ मा आन्निङ जिङ (Anning Jing) ले उक्त स्तम्भ–लेखको अंग्रेजी भाषामा अनुवाद गरी Artibus Asiae नामक अनुसन्धानमूलक पत्रिकामा छपाएपछि धेरै नयाँ कुराहरू प्रकाशमा आएका हुन् ।
तिब्बती भाषाका स्रोत
अरनिकोलाई तिब्बतको साक्या गोन्पामा बोलाउने बौद्ध धर्मगुरु छोग्याल फाग्पा लोडो ग्याल्छेन हुन् । सन् १०७३ मा स्थापित त्यो गोन्पाका उनी सातौं गद्दीधारी थिए। उनका काका साक्या पण्डितको स्मृतिमा सुवर्ण चैत्य बनाउन मङ्गोल सम्राट कुब्लार्ई खानले अनुरोध गरेपछि अरनिको सहित ८० जनाको टोली नेपालबाट सोझै साक्या गोन्पा गएको थियो । चिनियाँ लेखक ठिन छिन यिनले लेखेको ‘योन ग्याल्राव क्यी तिश्री डोगोन फाग्पाई जेनाम’ नै छोग्याल फाग्पाको सबैभन्दा विस्तृत जीवनी हो । काल्साङ धार्गेले तिब्बती भाषामा अनुवाद गरेको यो पुस्तकमा छोग्याल फाग्पाका भिक्षु चेला अरनिकोको बारेमा पर्याप्त जानकारी दिइएको छ ।
अरनिकोको बाल्यकाल
छेङ जुफुले राखेको स्मृति स्तम्भ–लेखमा अरनिकोलाई ‘आनिगे’ लेखिएको छ। उनी नेपालको राज खानदानका सदस्य थिए। उनका हजुरबा मिदिएर (मैत्रेय) र हजुरआमा कुन्दी लाखिभेई (कुन्ती लक्ष्मी) थिइन्। बुवाको नाम लाकेना र आमाको नाम सुमाकेताज थियो। उनीहरू सबैलाई मृत्युपछि भए पनि विभिन्न पदहरू दिएको पाइन्छ।
उक्त स्तम्भ–लेखमा उल्लेख भए अनुसार आनिगे (अरनिको) तीन वर्षका हुँदा उनलाई बुद्धको मन्दिरमा दर्शनका लागि लगिएको थियो। उनले त्यहाँको चैत्य देखाएर त्यसको स्तम्भ, भूमि (बोधका विभिन्न चरणको प्रतीक स्वरूप स्तूप वा चैत्यको माथिल्लो भागमा बनाइने सामान्यतया १३ वटा खण्ड) र अण्ड (स्तूपको अण्डाकार भाग) कसले बनाएको भनेर सोधे। त्यो प्रश्न सोधेको देखेर उनी जन्मजात कलाकार रहेछन् भन्ने सोचे। सात वर्षको हुँदा ‘प्रतिभा माप’ लगायत पुस्तक पढ्न थाले जसबाट उनका गुरुहरू पनि चकित परे। यसरी बाल्यकालमै उनको रुचि स्तूप, मूर्ति र चित्र बनाउने कलातर्फ केन्द्रित थियो।
अरनिकोको युवावस्था
कुब्लार्ई खान विशाल चीन साम्राज्यको सम्राट बनेपछि आफ्नी रानी छावी (chabi) को प्रेरणाले तिब्बतमा प्रचलित बौद्ध धर्मका प्रमुख चार परम्पराहरू (न्यिङ्मा, काग्यु, साक्या र गेलुग्) मध्ये साक्या परम्परातर्फ झुकाव राख्न थाले। सन् १२५१ मा चीनमै दिवङ्गत भएका साक्या पण्डित कुन्गा ग्याल्छेनको स्मृतिमा साक्या गोन्पा परिसरमा सुवर्ण चैत्य बनाउनका लागि उनकै भतिजा छोग्याल फाग्पासँग अनुरोध गरे। छोग्याल फाग्पाले नेपाल र भारतमा विशिष्ट कलाकारहरू हुन्छन् भन्ने सुनेकाले १०० जना कलाकारहरू पठाउनू भनी नेपाली राजालाई पत्र पठाए। राजाले ८० जना मात्र कलाकार पाउन सकेकाले कसको नेतृत्वमा पठाउने भन्ने बारे छलफल चलाए। १६ वर्ष मात्र पूरा गरेका अरनिकोले आपूm नेतृत्व गर्न तयार रहेको दाबी गरे। राजाले ‘तिमी त बच्चै छौ’ भन्दा अरनिकोले ‘मेरो जीउ बच्चाको भए पनि मन विकसित छ’ भन्ने उत्तर दिएपछि राजाले उनैलाई नेतृत्वको जिम्मेवारी दिए। यो प्रसंगबाट के देखिन्छ भने नेपालबाट हिंड्ने बेलामै त्यसताका प्रचलित कला र वास्तुकलाका सबै विधाहरूमा अरनिको निपुण भइसकेका थिए।
साक्या गोन्पामा सुवर्ण चैत्य निर्माणको काम सकेर चीन जाँदा त्यहाँका सम्राट कुब्लार्ई खानले अरनिकोलाई ‘तिमीले के जानेका छौ ?’ भनी सोध्दा अरनिकोबाट आएको जवाफ सम्बन्धी अर्को रोचक संवादको चर्चा पनि उनको स्मृति–लेखमा पाइन्छ। त्यसबेला उनले चित्रकला, धातु मूर्तिकला र काष्ठकला राम्ररी जान्दछु भनेर कुब्लार्ई खानलाई आफ्नो शिल्पज्ञानबारे आश्वस्त पारेका थिए । यसबाट उनी मूर्ति र चित्रकलाका सबै विधाहरूमा दक्ष भएको देखिन्छ।
अरनिकोको तिब्बत यात्रा
नेपाली टोली तिब्बतको साक्या गोन्पा पुग्नेबित्तिकै नै साक्या गोन्पाका गद्दीधारी धर्मगुरु छोग्याल फाग्पा अरनिकोबाट प्रभावित भएका थिए। हिमाल पारि अरनिकोलाई बोलाएर प्रसिद्ध बनाएपछि आफ्ना काका साक्या पण्डितसँगै मङ्गोल दरबार गएका छोग्याल फाग्पा मङ्गोल सम्राट कुब्लार्ई खान (Kublai khan) (सन् १२१५–९४) का राजगुरु (तिश्री) भए। काकाको मृत्युपछि तिब्बतको आफ्नो मूल गोन्पा फर्कंदा त्यहाँ सुवर्ण चैत्य बनाउने दायित्व उनीमाथि आएको थियो जुन जिम्मेवारी पूरा गर्नमा समेत उनलाई अरनिकोको कलाकौशलले साथ दियो।
चालीस वर्षभन्दा बढी युआन वंशी राजाहरूको सेवामा रहेर नौ वटा ठूला मन्दिर, तीन ठूला चैत्य, दुई वटा कन्फ्युसिअस मन्दिर र ताओ धर्मका स्मारकहरू बनाएका अरनिकोको सन् १३०६ मार्च ११ मा देहान्त भयो।
साक्या गोन्याको स्तूप निर्माण सम्पन्न भएपछि अरनिकोले भिक्षु बन्ने सङ्कल्प गरे । यसरी तिब्बतभित्रै भिक्षु बन्ने पहिलो नेपाली पनि थिए अरनिको। उपसम्पदा (भिक्षु बन्ने विधिअन्तर्गत पहिलो चरणको शील र संकल्प) लिएपछि उनको नाम अनङ्ग राखियो जुन पछि आनिगे बनेको कुरा चिनियाँ स्रोतहरूमा उल्लेख छ। तिब्बतमा नेपाललाई भाल्युल र नेपालीलाई भाल्पो वा भाल्बु भन्ने चलन छ। ‘नेपालको अनङ्ग’ भनेर मङ्गोलहरूलाई परिचय दिंदा ‘भाल्बु अनङ्गे’ भएको हुन सक्छ। भाल्बुलाई अङ्ग्रेजीमा Balbu लेखिन्छ जसको लिप्यान्तर गर्दा बाल्बु भएकाले केही नेपाली विद्वान्हरूले अरनिकोलाई ‘बलबाहु’ नाम दिएका थिए । कसैले पाल्पु पढेर ‘अरनिको पाल्पाली हुन्’ भनेर पनि लेखेका छन्। तर तिब्बती र चिनियाँ स्रोतहरूमा बलबाहु, पाल्पु जस्ता शब्दहरू प्रयुक्त भएका छैनन् ।
तिब्बतमा अरनिको र उनको टोलीका सदस्यले नयाँ शैलीका स्तूप, मूर्ति र चित्रहरू बनाएकाले कलाविद्हरूले त्यसलाई तिब्बती कलाको नेपाली पद्धति (शैली) भन्ने गरेका छन् । ठिन छिन यिन नामका चिनियाँ लेखकको पुस्तकमा अरनिकोको योगदानको विस्तृत चर्चा गरिएको छ।
तिब्बतमा स्तूप निर्माणको काम सकेपछि अरनिको नेपाल फर्कन खोज्दा छोग्याल फाग्पाले ‘नेपाल नफर्क बरु सम्राटलाई भेट्न बेइजिङ जानुपर्छ’ भने । त्यस अवधिमा भिक्षुका रूपमा धेरै ग्रन्थहरूको अध्ययन गरेर अरनिको बौद्ध धर्मका उच्चस्तरका विद्वान् पनि भइसकेका थिए ।
अरनिको र कुब्लाई खानको भेट
भिक्षु भएका अरनिको आफ्ना गुरु छोग्याल फाग्पासँगै मङ्गोल सम्राट कुब्लार्ई खानलाई भेट्न बेइजिङ गए । चिनियाँ ग्रन्थहरूमा लेखिए अनुसार एशिया र युरोपका भूभाग कब्जा गरिसकेका कुब्लार्ई खानले अरनिकोलाई ‘यस्तो ठूलो देशको राजालाई भेट्न आउँदा डर लागेको छैन ?’ भनेर सोधे । अरनिकोले निडर भएर ‘महाराजले सबै दिशाका मानिसहरूलाई छोराको रूपमा हेर्ने भएकाले बुवा
भेट्दा किन डराउनु ?’ भनी जवाफ दिए । ‘तिमी किन आयौ त ?’ भन्ने सम्राटको अर्को प्रश्नमा अरनिकोले ‘म यहाँ प्राणीहरूको हितका लागि आएको हुँ’ भने । फेरि कुब्लाई खानले सोधे– ‘के जानेका छौ ?’ अरनिकोले प्रत्युत्तर फर्काए– ‘चित्रकला, ढलौट मूर्तिकला र काष्ठकला जान्दछु ।’
यसप्रकार अरनिकोले निर्भीक र आत्मविश्वास सहित उत्तरहरू दिएकाले उनको सीप परीक्षण गर्न कुब्लाई खानले अरू कसैले मर्मत गर्न नसकेको मानव शरीरको प्रतिरूप भएको पित्तलको प्रतिमा मर्मत गर्न लगाए । सन् १२६५ मा उक्त प्रतिरूपको पुनः निर्माण गरेर अरनिकोले पहिलेको भन्दा पनि स्पष्ट र नसाहरू समेत देखिने मूर्ति बनाइदिए । सम्राटले सबै प्रतिष्ठित कलाकारहरूलाई बोलाएर भने– ‘तिमीहरू कसैले नसकेको काम यसले पूरा ग¥यो ।’ उपस्थिति सबैले भने– ‘यो त दैवी हातको काम हो ।’ अनि उनीहरू सबै अरनिकोतर्फ झ्ुके । त्यसपछि उनलाई शेन्गुओ रेन्वाङ्शी नामक बौद्ध मन्दिर बनाउन लगाइयो । सन् १२७० मा उक्त कार्य पूरा भएपछि अरनिकोलाई राजधानी तातु (बेइजिङ) का कालिगडहरूको प्रमुख नायक (तातु रेन्जियाङ झेङ गुयान फु) बनाइएको थियो । उनको नेतृत्व क्षमता देखेर साम्राज्ञी छावीको सिफारिसमा सुपरीवेक्षक नायकको सहप्रशासक बनाइयो । यसरी सम्राट कुब्लाई खान र साम्राज्ञी छावीका प्रियपात्र अरनिकोको युआन प्रशासनमा पकड बलियो हुँदै जाँदा उनलाई राजकीय जिम्मेवारी पनि प्राप्त भयो र शिक्षामन्त्री हुँदै चीनको प्रमुख मन्त्री (प्रधानमन्त्री) को तहसम्म उनको पदीय हैसियत र सम्मान उकासिएको इतिहास तत्कालीन चिनियाँ दस्तावेजहरूमा पाइन्छ ।
साम्राज्ञी छावीको अरनिको प्रतिको विशेष अनुग्रह
कुब्लार्ई खानकी रानी छावीको शुरुदेखि नै बौद्ध धर्मप्रति विशेष सुझव थियो। साक्या पण्डितकी शिष्या छावीले नै आफ्ना गुरुको स्मृतिमा साक्या गोन्पामा सुवर्ण चैत्य बनाउन राजालाई प्रेरित गरेकी थिइन् । अरनिकोले त्यही चैत्य निर्माण गर्न साक्या गोन्पा गएको बेला छोग्याल फाग्पाबाट भिक्षुको दीक्षा लिएका थिए। गुरु छोग्याल फाग्पासँगै बेइजिङ गएका र साक्या परम्पराका साधक कलाकार पनि भएकाले अरनिको प्रति रानी छावीको आत्मीय भाव भएको हुनुपर्दछ। रानीकै अनुरोधमा सम्राट कुब्लार्ई खानले पनि छोग्याल फाग्पाबाटै अभिषेक र शिक्षाहरू लिएका थिए। कुब्लार्ई खानको दरबारमा अन्य बौद्ध गुरुहरू भए पनि रानी छावीको प्रभावले गर्दा साक्या परम्पराका उपदेशहरूलाई ग्रहण गरी मूल राजगुरु (तावेन तिश्री) को उपाधि, छाप र मुकुट छोग्याल फाग्पाले पाएका थिए। उनलाई गुरुदक्षिणाको रूपमा तिब्बत राज्य चढाइएको र तिब्बतको उच्च धर्मराज पद दिइएको थियो भन्ने कुरा तिब्बती स्रोतहरूमा पाइन्छ।
छोग्याल फाग्पाका निकट शिष्यहरूमा अरनिको, कुब्लार्ई खान र छावी पर्ने भएकाले मङ्गोल दरबारमा अरनिकोको विशेष सम्मान भएको पाइन्छ। कला र वास्तुकलामा उत्कृष्ट हुनुका साथै धार्मिक अभ्यासमा निपुण भएकाले पनि दरबार र सिङ्गो चिनियाँ राजकीय सत्तामा अरनिकोको स्थान विशिष्ट रहेको हुन सक्छ।
चिनियाँँ स्रोतहरूबाट अरनिको चीन जानुअघि नै विवाहित थिए भन्ने तथ्य पनि खुल्छ । उनको पहिलो ठूलो कला परियोजना शेन्गुओ रेन्वाङ्सी (राज्य संरक्षक कृपालु राजाको मन्दिर) रानी छावीकै खर्चमा बनेको थियो। त्यसबाट खुशी भएर नेपालमा रहेकी अरनिकोकी श्रीमतीलाई रानीले सुन पठाएकी थिइन् । उक्त सुन श्रीमतीका नातेदारले हडपेर अर्कैसँग विवाह गर्ने प्रस्ताव राखे । तर अरनिकोकी श्रीमतीले स्वीकार गरिनन् र सजायस्वरूप उनलाई बन्दी बनाएर राखियो । त्यति गर्दा पनि अर्को विवाह गर्न नमानेर उनी १० दिनसम्म अनशन बसेको खबर नेपालका ऐतिहासिक सामग्रीहरूमा नसमेटिएको भए पनि चिनियाँ अभिलेखहरूमा लिपिबद्ध छन्। आखिर सन् १२७६ मा अरनिकोकी पत्नीलाई चीन लैजान ५०० टाएल सुन (१ टाएलमा ३७.५ देखि ५० ग्रामसम्म हुन्छ) सहित चिनियाँ अधिकारीहरूलाई नै नेपाल पठाइएको थियो।
नेपालमा रहेकी अरनिकोकी श्रीमती अर्को विवाह गर्न नमानेर दश दिनसम्म अनशन बसेको प्रसंग नेपालका ऐतिहासिक सामग्रीहरूमा नसमेटिएको भए पनि चिनियाँँ अभिलेखहरूमा लिपिबद्घ छ।
रानी छावीकै खर्चमा बेइजिङमा अरनिकोले अर्को ठूलो बौद्ध मन्दिर ता हुगुओ रेन्वाङ्सी बनाए। उक्त मन्दिर बनाउन उनले ताओ धर्मका पुरोहित लिउ युआन लगायत चिनियाँ कलाकारहरूलाई पनि आफ्नो सीप सिकाएर काममा लगाएका थिए। सन् १२७४ मा निर्माण पूरा भएको उक्त मन्दिर बेइजिङ (तातु) मा रहेका राजा कुब्लाईसँग सम्बन्धित दुई बौद्ध मन्दिरहरूमध्ये एक हो।
सन् १२९४ मा कुब्लार्ई खानको देहावसानपछि राजा र रानी दुवैका मुहारचित्र अरनिकोले नै बनाएका थिए। हाल ताइवानको राष्ट्रिय दरबार म्युजियममा रहेका यी मुहारचित्रले कलाकार अरनिकोको उत्कृष्ट कलाकृतिलाई जीवन्त बनाइरहेका छन्। राजा र रानी दुवैको मृत्युपछि अरनिकोले उल्लेखनीय कलाकृतिहरू बनाउन सकेनन्। यसरी अरनिकोको व्यक्तित्व निर्माणमा रानी छावीको महत्वपूर्ण भूमिका रहेको पाइन्छ।
अरनिकोको पदोन्नति
कालिगडका नाइकेबाट शुरु भएको अरनिकोको पदोन्नति क्रमिक रूपमा हुँदै गएको देखिन्छ। सन् १२७३ मा उनलाई सबै वर्गका कलाकारहरूको प्रमुख निरीक्षक बनाइयो। सन् १२७५ मा उनको स्तरोन्नति भएर धार्मिक प्रतिमा, राजकीय मुहारचित्र आदि बनाउने हजारौं कलाकारको निर्देशक बनाइयो। सन् १२७८ मा उनको विभाग अन्तर्गत १७ नयाँ शाखाहरू थपियो। त्यसलगत्तै उनले तासितु (शिक्षामन्त्री) को जिम्मेवारी पाए। लगत्तै उनलाई भिक्षुको जीवन छाडेर गृहस्थ जीवनमा प्रवेश गर्न लगाएर राजकुमारको हैसियत दिइयो। सोङ राजकुमारकी नातिनीसँग विवाह गरेपछि उनको महल र जग्गा पनि सबै दिइयो। त्यसपछि प्रमुख मन्त्रीको जिम्मेवारी दिएर उनको पदलाई प्रधानमन्त्री सरहकै बनाइयो।
बेइजिङको श्वेत चैत्य बनाइसकेपछि अरनिकोलाई एक हजार एकडभन्दा बढी जग्गा, हजारौं कृषक र सयौं गाईवस्तु दिइयो। त्यसबेला अरनिकोको सम्मानमा सुन र अन्य बहुमूल्य पत्थरका पेटी र ताश कुचीनका वस्त्रहरू पनि चढाइएको थियो। मृत्युपछिको स्मृति–लेखमा उनलाई लिआङ राज्यका सामन्त (Duke) भनेर सम्बोधन गरिनुले अरनिकोको सम्मान राजकीय र पद प्रधानमन्त्री समानकै थियो भन्ने स्पष्ट देखिन्छ। यसरी मङ्गोल साम्राज्यमा कलाकारले पाउने सर्वोच्च पदसम्म अरनिको पुगेका थिए।
बेइजिङ र पञ्चशीर्ष पर्वतका चैत्यहरू
अरनिकोलाई विशाल चिनियाँ भूभागमा चिनाउने प्रमुख वास्तुकलामा बेइजिङ र शान्शीमा बनाइएका सेतो रङका विशाल चैत्यहरू पर्दछन्। उत्तर भारतमा प्रचलित पाल कला शैलीमा आधारित उक्त चैत्यहरू नेपालको प्रतिनिधित्व गर्ने वास्तुकलाका नमूनाका रूपमा आजसम्म ज्यूँका त्यूँ छन्। सन् १२७९ मा निर्माण सम्पन्न भएको ५२ मीटर अग्लो उक्त स्तूपको अण्ड सेतो र गजुर सुनौलो रङको छ। त्यसको दर्शन गर्न सम्राट कुब्लार्ई खान आफैं आएका थिए। यसको बारेमा सत्यमोहन जोशी आदि नेपाली लेखकले व्यापक रूपमा लेखिसकेका छन्।
चीनको शान्शी प्रान्तमा पर्ने उताई शानलाई प्राचीन संस्कृत वाङ्मयमा पञ्चशीर्ष पर्वत भनेर वर्णन गरिएको छ। बोधिसत्व मञ्जुश्री त्यही ठाउँबाट काठमाडौं उपत्यकामा आई स्वयम्भू ज्योति दर्शन गरेको कथा स्वयम्भू पुराणमा लेखिएको छ। उनले नै तत्कालीन नाग दहको पानी चोभार गल्छीबाट बाहिर पठाएर मञ्जुपत्तन नामक बस्ती बसाएको प्राग्ऐतिहासिक सन्दर्भ नेपाली इतिहासका पुस्तकहरूमा लेखिएको छ। त्यस पवित्र स्थलमा नेपाली शैलीको चैत्य बनाएर अरनिकोले विद्याका अधिष्ठाता मञ्जुश्रीप्रति कृतज्ञता व्यक्त गरेका छन्। ७५ मीटर अग्लो यो चैत्य पाँच पर्वतहरूमध्ये बीचको भागमा रहेको छ। चीनका पवित्र स्थलमध्ये एक उताई शानमा सन् १३०१ मा सम्राट तैमुरको राज्य कालमा यसको निर्माण भएको थियो ।
अरनिकोको अन्तिम समय
कुब्लार्ई खान र तैमुर राजाहरूका पालामा प्रशस्त मन्दिर, चैत्य, मूर्ति र चित्रहरू बनाएका अरनिकोको अन्तिम समय त्यति सुखद रहेन। रानी छावीले उनलाई जति प्रोत्साहन दिंदै सहयोग गरेकी थिइन् तैमुरकी रानी वुलुहानले भने उनलाई निरुत्साहित गरिन्। रानी बुलुहानलाई वज्रयान बौद्ध परम्पराका नारी–पुरुष युगनद्ध मूर्तिहरू मन पर्दैनथ्यो। उनले त्यस्ता सबै मूर्ति नष्ट गर्न लगाइन्। दरबारिया राजनीतिबाट पीडित उनी सन् १३०६ मा आत्महत्या गर्न बाध्य भइन्। विक्षिप्त रानीको असहज मनस्थितिले गर्दा अरनिको र उनका चेलाहरूले बनाएका हजारौं मूर्ति नष्ट भए।
चालीस वर्षभन्दा बढी युआन वंशी राजाहरूको सेवामा रहेर नौ वटा ठूला मन्दिर, तीन ठूला चैत्य, दुई वटा कन्फ्युसिअस मन्दिर र ताओ धर्मका स्मारकहरू बनाएका अरनिकोलाई जीवनको उत्तरार्धमा धेरै ठूलो पीडा भयो। सन् १३०६ मार्च ९ मा दरबारको कामबाट फर्केपछि उनी बिरामी भए। दरबारका चिकित्सकहरूले हरसम्भव प्रयास गरे पनि मार्च ११ मा उनको देहान्त भयो। राजा तैमुरले राज्यमा बिदा घोषणा गरे र अरनिकोका परिवारको रेखदेख गर्न लगाए। उनको अन्त्येष्टि क्रियाका लागि राजाले नै २५ हजार टायल चाँदी दिए। मार्च १७ मा नेपाली प्रचलन अनुसार अरनिकोको अन्त्येष्टि भयो। उनको अस्तिधातुलाई जम्मा गरी वान्पिङ प्रान्तको शियानसान जिल्लाको काङ्जी युआनमा स्तूप बनाइयो। त्यही स्थलमा छेङ जुफुले दश वर्षपछि अरनिकोको मृत्यु स्मृति अभिलेख राखे।
उपसंहार
नेपालको राजपरिवारमा जन्मेको सत्र वर्षे युवकले असी जना कालिगडहरूको नेता भएर तिब्बत गई आफ्नो कला प्रदर्शन गरेका थिए। तिब्बतका प्रथम भिक्षु राजा छोग्याल फाग्पा (सन् १२३५–८०) को शिष्य भएर आफ्ना गुरुसँगै उनी मङ्गोल सम्राट कुब्लार्ई खानको राज्यमा पुगेका थिए। नेपाली शैलीका चैत्यहरू बनाउनुको अलावा त्यहाँ प्रचलित ताओ, कन्फ्युसिअस र बौद्ध धर्मका मन्दिर, मूर्ति र चित्रहरू बनाउनुका साथै चेलाहरूलाई सिकाएर उनले चीनमा छुट्टै पहिचान बनाए।
काष्ठकला, ढलौट मूर्तिकला, धागो बुन्ने कला लगायतका विधाहरूमा पारङ्गत अरनिको बौद्ध शास्त्रहरूमा आधारित वास्तुकलामा अब्बल दर्जाका विद्वान् थिए। नेपाल र चीनको कला क्षेत्रको सहकार्यका उत्कृष्ट नमूनाको रूपमा स्थापित अरनिकोलाई नेपालमा राष्ट्रिय विभूतिको सम्मान प्रदान गरिएको छ भने युआन कालमा मङ्गोल सम्राटहरूले उनलाई प्रधानमन्त्री स्तरको पदीय हैसियत दिएको पाइन्छ।
(तिब्बती भाषाका ज्ञाता पराजुली काल्र्टन कलेज, अमेरिकामा प्राध्यापन गर्छन् ।)



