शिक्षकको पेशागत मर्यादा बढाउने केही उपाय
नेपाल सरकारको सन् २०२१/२२ को तथ्याङ्क अनुसार नेपालमा सामुदायिकतर्फ २६ हजार ४५४, संस्थागततर्फ ६ हजार ७६० र धार्मिक आदि गरी कुल ३४ हजार ३६८ विद्यालय (कक्षा १-१२) सञ्चालनमा छन्। यी विद्यालयमा करीब ३ लाख २५ हजार ५१९ शिक्षक र करीब ७३ लाख ९१ हजार ५२४ जना विद्यार्थी रहेको देखिन्छ। हरेक विद्यार्थीमा नयाँ कुरा सिक्ने क्षमता अनि रुचि पनि फरक-फरक हुन्छ। विविध विशेषता भएका विद्यार्थीलाई एउटै विषयवस्तु एउटै समयमा सिकाउन सक्ने गुण शिक्षकमा हुनुपर्दछ। विद्यार्थीले कुनै पनि विषयवस्तुको पूर्णज्ञान प्राप्त गर्नमा शिक्षकको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ।
त्यस्तैगरी एउटा शिक्षक विद्यार्थीलाई पढाउने व्यक्ति मात्रै नभएर ऊ एउटा सामाजिक व्यक्ति पनि हो। आम मानिसहरू जस्तै शिक्षक पनि मानिसहरूसँग मिलेर समाजका दुःख, अन्याय विरुद्ध लड्ने, कुरीति हटाउने, बाटो बनाउने, कुलो खन्ने जस्ता विकास निर्माणका काममा पनि सरिक भएको हुन्छ। कतिपय ठाउँमा शिक्षक नहुने हो भने योजना तथा कार्यक्रमका निर्णयपुस्तिका समेत तयार हुँदैनन्। विभिन्न पेशागत संघ-संगठनमा आवद्ध रही उनीहरूले आफ्नो तथा पेशामा आवद्ध व्यक्तिहरूको नेतृत्व सीपको विकासमा पनि टेवा पुर्याइरहेका हुन्छन्। त्यसैगरी, आफ्नो आयबाट कर तिरी राज्य सञ्चालनका लागि आवश्यक वित्तीय व्यवस्थापनमा समेत योगदान दिएका हुन्छन्।
अर्को दृष्टिकोणबाट हेर्दा शिक्षक राजनीतिज्ञ वा भनौं समाजसेवी पनि हो। समाजका सबै मानिसहरूसँग घुलमिल हुने, उनीहरूलाई नजिकबाट चिन्ने, प्रत्येक व्यक्ति-व्यक्तिलाई प्रत्यक्ष रूपमा भेट्ने, उनीहरूको आवश्यकता पहिचान गर्ने व्यक्ति शिक्षक हो। अन्य पेशागत मानिसले भन्दा शिक्षकले जनताहरूलाई सजिलै प्रभावमा पार्न सक्छन्।
यसरी, एउटा शिक्षक– जसले समाजमा फरक-फरक भूमिकामा रहेर काम गर्छ; सामाजिक विकासमा जोड दिन्छ; देशका भविष्यहरू तयार गर्छ; त्यस्तो व्यक्तित्वलाई नै हाम्रो समाजले सापेक्षतः निम्नस्तरको व्यवहार देखाउँछ। लाचार भएर शिक्षकहरू त्यसलाई सहेर बसेका हुन्छन्। आखिर किन त्यस्तो हुन्छ त ? हेपिनै पर्ने हो त ? शिक्षकको पेशागत मान-मर्यादा र प्रतिष्ठा वृद्धि गर्नै सकिन्न त ? मलाई विश्वास छ, जरुर सकिन्छ। प्रयोग गरेर पनि हेरिसकिएको छ। सरकार, समाज, पेशागत संघ-संगठन तथा शिक्षकको व्यक्तिगत प्रयासबाट शिक्षकको मान-प्रतिष्ठामा वृद्धि गर्न निम्न उपायबाट सकिन्छ भन्ने मेरो धारणा छ।
राज्य वा सरकारको तर्फबाट गर्न सकिने कार्य
उत्कृष्ट शिक्षकलाई उचित पुरस्कारः समाजको नजरमा शिक्षकको इज्जत बढाउन वा प्रतिष्ठामा वृद्धि गर्नको लागि स्थानीय तह, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई, प्रदेश सरकार तथा संघीय सरकारका तर्फबाट कार्यसम्पादन तथा नतिजाका आधारमा वार्षिक रूपमा पुरस्कार दिने व्यवस्था गरिनुपर्छ। यसबाट शिक्षकको मनोबल वृद्धि हुनाको साथै समाजमा प्रतिष्ठा वृद्धि हुनसक्ने देखिन्छ।
पेशागत विकासका अवसर दिएरः तालिम, अनलाइन सिकाइ, सहकर्मी परामर्श, खेल सिकाइ, कक्षा अवलोकन, गोष्ठी, सेमिनार, वर्कशप, अध्ययन, व्यक्तिगत तथा सामूहिक अनुसन्धान आदि जस्ता पेशागत दक्षता विकासका अवसरहरू दिएर शिक्षकको दक्षता तथा क्षमता वृद्धि गर्न सकेमा विद्यार्थीको सिकाइ उपलब्धि पनि वृद्धि हुन्छ। यसले सामाजिक प्रतिष्ठा बढाउन मद्दत गर्दछ।
सेवा-सुविधामा समानता बनाएरः शिक्षण पेशामा आकर्षण नहुनुका कारणहरूमध्ये एउटा प्रमख कारण निजामती कर्मचारी र शिक्षकको सेवा-सुविधा तथा मर्यादाक्रम समान नहुनु हो। यदि यसमा समानता ल्याउने हो भने यसले शिक्षण पेशामा आकर्षण थप्नुका साथै सामाजिक प्रतिष्ठा वृद्धि गर्दछ।
वृत्ति-विकासका अवसरहरू प्रदान गरेरः आकर्षक तलब सुविधा, नयाँ जिम्मेवारी, विशेषज्ञता, प्रधानाध्यापक बन्ने अवसर, उच्च शिक्षाका अवसर आदि जस्ता सुविधा दिनुपर्दछ। वृत्ति-विकास रणनीतिक तथा दीर्घकालीन अवधारणा हो। पेशागत विकासले शिक्षणमा लाग्न अभिप्रेरित गर्दछ भने वृत्ति-विकासका अवसरहरूले शिक्षण पेशामा टिकिरहन अभिप्रेरित गर्दछ। उच्च मनोबलका साथ शिक्षण पेशामा निरन्तरता दिइरहने वातावरणले पनि शिक्षकको प्रतिष्ठा बढाउनमा सहयोग गर्दछ।
समाजका तर्फबाट गर्न सकिने उपाय
शिक्षकका उपलब्धिको प्रचार-प्रसारः शिक्षकहरू पनि सामाजिक प्राणी हुन्। उनीहरूको मनोबल उच्च पार्ने र हौसला दिने कर्तव्य समाजका बासिन्दाहरूको पनि रहन्छ। शिक्षकले प्राप्त गरेका विविध उपलब्धिहरू समाजमा प्रचार गरिएमा त्यसले समाजको शिक्षकप्रतिको दृष्टिकोणमा सुधार गर्न सक्दछ।
सामाजिक विकासमा शिक्षकको भूमिका बताएरः शिक्षकले समाजका बालबालिकालाई सामाजिक रहनसहन सिकाउने, साथीहरूसँग अन्तरक्रिया गर्ने अवसर जुटाउने, अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने, समाज विकासका अवसर तथा चुनौतीहरू पहिचान गर्ने, नेतृत्व क्षमता विकास गराउने, सामाजिक द्वन्द्व समाधान गर्ने, स्वस्थ प्रतिस्पर्धालाई प्रवर्धन गर्ने जस्ता सामाजिक विकासका कामहरू गर्दछन् । यस प्रकारका कार्यहरूमा शिक्षकहरूले निर्वाह गरेको भूमिका समाजमा बताएर उनीहरूको इज्जत तथा प्रतिष्ठा बढाउन सकिन्छ।
शिक्षकमैत्री वातावरण निर्माण गरेरः शिक्षकले भयरहित वातावरणमा पढाउन पाउने वातावरण निर्माण गरेर, आफ्ना बालबालिकासामु शिक्षकका सकारात्मक कुराहरू गरेर तथा प्रभावकारी शिक्षणका लागि आवश्यक साधन-स्रोतहरूको व्यवस्था मिलाएर समाजले शिक्षकमैत्री वातावरण निर्माण गर्न सक्छ । यस्तो वातावरणको सिर्जनाले शिक्षकको मान, मर्यादा तथा प्रतिष्ठामा वृद्धि गर्न सघाउ पुग्दछ।
पेशागत संगठनका तर्फबाट गर्न सकिने काम
शिक्षक सहयोगी सन्जाल निर्माण गरेरः शिक्षकको पेशागत हकहितका लागि गठित शिक्षक महासंघ लगायत संघ-संगठनहरूले शिक्षकको पीरमर्का र अप्ठेरोमा सहयोग गर्ने तथा पेशागत विकासका लागि विभिन्न विषयगत समिति, उपसमितिहरू गठन गरी शिक्षकको दक्षता वृद्धिमा सघाउन सक्दछन्। यसले पनि शिक्षण पेशामा आवद्ध व्यक्तिहरूको मान-मर्यादामा वृद्धि गर्न सकिन्छ।
नीति-निर्मातासँग छलफल गरेरः राज्यले शिक्षकसँग सम्बद्ध नीति-नियमहरू तर्जुमा गर्ने क्रममा शिक्षकका पेशागत संघ-संगठनको केन्द्रीय नेतृत्वसँग समन्वय गर्दछ। पेशागत संगठनका नेतृत्व तहमा रहेर काम गर्नेहरूले पहिले आफ्ना सहकर्मी सदस्यहरूसँग राय सुझाव संकलन गरी राज्यका ऐन, कानुन, नीतिनिर्मातासँग छलफल गरी शिक्षकमैत्री कानून बनाउन योगदान गर्न सक्दछन्। शिक्षक पेशालाई मर्यादित बनाउन राज्यको कानूनले महत्वपूर्ण भूमिका खेल्दछ।
शिक्षकको व्यक्तिगत तवरबाट गर्न सकिने उपायहरू
निरन्तर पृष्ठपोषण संयन्त्र बनाएरः निरन्तर पृष्ठपोषण दिने संयन्त्रले शिक्षक शिक्षण कार्यमै रहिरहेको वेला उनीहरूको शिक्षण प्रभावकारिता, विषयवस्तुको प्रस्तुति, शिक्षण विधिको उपयुक्तता, शिक्षण सामग्रीको प्रयोगको अवस्था आदिको बारेमा पृष्ठपोषण दिने काम गर्न सक्नुपर्दछ । यसले शिक्षण सीप तथा कौशलमा वृद्धि गरी विद्यार्थीलाई सन्तुष्ट बनाउनुका साथै उनीहरूको सिकाइ उपलब्धि बढाउन मद्दत गर्दछ। शिक्षकको दक्षता तथा विद्यार्थीको सिकाइ उपलब्धि पनि बढ्दा यसले शिक्षकको प्रतिष्ठालाई स्वाभाविक रूपमा बढाउँदछ।
विद्यार्थीलाई सहभागी गराएरः सिकाइ सहजीकरणको प्रभाव मूल्याङ्कन गर्ने, कक्षाकोठाको वातावरण सकारात्मक बनाउने, शिक्षण गर्दैगर्दा नै पृष्ठपोषण लिने, विद्यमान शिक्षण विधि तथा प्रक्रियामा परिवर्तन गर्ने, समावेशी शिक्षण वातावरण निर्माण गर्ने जस्ता गतिविधिमा विद्यार्थीलाई समेत सहभागी गराई खुला तथा प्रभावकारी सञ्चार प्रणालीको स्थापना गर्न सकिएमा यसले शिक्षण प्रभावकारिता वृद्धि गर्दछ। विद्यार्थी सन्तुष्ट तथा सकारात्मक भएमा उनीहरूले घरमा अभिभावकसँग शिक्षकका बारेमा सकारात्मक टिप्पणी गर्दछन् र अभिभावकको शिक्षकप्रतिको दृष्टिकोण पनि सकारात्मक बन्दछ। यसरी विद्यार्थी सहभागी गराई शिक्षकको मान-प्रतिष्ठा तथा इज्जतमा वृद्धि गर्न सकिन्छ।
सामाजिक गतिविधिमा सम्मिलित भएरः शिक्षकले आफ्नो प्रतिष्ठा वृद्धि गर्नको लागि समाजमा हुने सामाजिक, सांस्कृतिक तथा विकास निर्माणका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाई आफ्ना धारणाहरू राख्ने गर्नुपर्दछ। समाजमा सकारात्मक सन्देश दिने, विकास निर्माण कार्यक्रमलाई सहयोग पुग्ने तथा असल सांस्कृतिक अभ्यासलाई टेवा दिने खालका गतिविधि गर्नुपर्दछ।
निष्कर्षमा भन्नुपर्दा, शिक्षकको पेशागत मर्यादा तथा मान–प्रतिष्ठा वृद्धि गर्नमा राज्यको अहम् भूमिका रहन्छ । त्यसबाहेक समाजका सदस्यहरूले शिक्षकको सामाजिक विकासमा रहेको तथा रहन सक्ने भूमिकाहरू प्रचारप्रसार गरी उनीहरूको मान–प्रतिष्ठा वृद्धि गर्न सहयोग पुर्याउन सक्दछन्। पेशागत संगठनले शिक्षकको हकहितसँग सम्बन्धित नीति–नियम बनाउन दबाब दिएर आफ्ना सहकर्मीको मान–प्रतिष्ठा बढाउन भूमिका खेल्न सक्दछन् भने शिक्षकहरूले आफ्नो पेशागत मर्यादालाई कायम राखी पूर्णरूपमा इमानदार भएर कर्मशील बनेमा शिक्षण पेशामा आवद्ध व्यक्तिहरूको मान–मर्यादा, इज्जत तथा प्रतिष्ठामा वृद्धि गर्न सकिन्छ।
(श्री जनहित मावि, वालिङ-१४, स्याङ्जा)



