प्रतिभा प्रस्फुटनको ब्याड: अतिरिक्त क्रियाकलाप
सामान्य रूपमा विद्यालय शिक्षा भन्नासाथ औपचारिक पठनपाठनको प्रक्रिया बुझिन्छ। यस प्रक्रियामा नियमित, पूर्वनिर्धारित, स्थापित क्रियाकलाप र गतिविधिहरू सञ्चालन हुन्छन्। विद्यालयमा शिक्षक विद्यार्थीहरू नियमित उपस्थित हुनु, खास विषयवस्तुमा प्रत्यक्ष संवाद र साक्षात्कारमा जोडिनु, सवालजवाफ गर्नु, मूल्याङ्कन र परीक्षाका प्रणालीहरू विकास गर्नु, स्तर मापन गर्नु आदि हाम्रा प्रमुख सरोकारका विषय हुन्। यी सबै विषयको केन्द्रबिन्दु विद्यार्थी हुन्। यिनै विद्यार्थी वर्गको सर्वाङ्गीण विकास विद्यालय शिक्षाको मूल अभीष्ट हो। यसका लागि कक्षाकोठाका क्रियाकलापहरू मात्र पर्याप्त नहुने हुँदा अतिरिक्त क्रियाकलापको अवधारणा विकास भएको हो।
‘अतिरिक्त’ भन्नासाथ त्यो मूल पद्धति नभएर सहायक पद्धति हो भन्ने अर्थ लाग्दछ। शिक्षा प्रणालीमा मूल क्रियाकलापलाई सघाउने, पठनपाठन बाहेकका अन्य शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकासका क्रियाकलापलाई अतिरिक्त क्रियाकलापको रूपमा लिएको पाइन्छ। त्यसैकारण; अतिरिक्त क्रियाकलापको सम्बन्ध विद्यार्थी वर्गको बहुआयामिक पक्षसँग जोडिने भए पनि यसको प्रयोग र प्रचलनमा जुन गाम्भीर्य, योजना र चासो हुनुपर्ने हो सो हुन नसकिरहेको देखिन्छ। हाम्रा विद्यालयमा अतिरिक्त क्रियाकलापलाई झञ्झटको रूपमा लिनु, त्यस्ता कार्यक्रममा नयाँपन नहुनु, शिक्षक-विद्यार्थी दुवै पक्षको सहभागिताको पक्ष कमजोर रहनु, समयमै पुरस्कार दिने र उत्प्रेरणा प्रदान गर्ने प्रचलन नहुनु, विद्यार्थीको रुचि, क्षमता बुझेर उचित सल्लाह र परामर्श सेवा प्रदान नगरिनु जस्ता कमजोरीहरू देखिन्छन्। तर यी कमजोरी हटाउँदै समय-समयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नुका धेरै फाइदा छन्। तीमध्ये केहीलाई यहाँ उठान गरिएको छ।
(क) सामाजिक भावनाको विकास
एक-अर्का बीच सहयोग, सहकार्य र समन्वयको पद्धति सामाजिक भावना हो। यस्तो भावनाले नै मानिस व्यक्तिवादबाट माथि उठेर सामूहिक स्वार्थ र लाभका लागि क्रियाशील रहन्छ। यो मानव जातिका लागि आधारभूत र जीवनोपयोगी सीप समेत हो। अतिरिक्त क्रियाकलापमा विद्यार्थी वर्गको व्यक्तिगत र सामूहिक सहभागिता रहन्छ। व्यक्तिगत प्रतिस्पर्धामा समेत अरूको सहयोग र सद्भाव जुटाउनु आवश्यक हुन्छ। सामूहिक रूपमा आयोजना हुने प्रतियोगितामा समूहको सक्रिय सहभागिता र उच्च क्षमताको प्रदर्शनले मात्र विजयी बन्न सकिन्छ। अर्कोतर्फ यस्ता क्रियाकलाप कक्षाकोठाको नियन्त्रित वातावरणभन्दा बाहिर सञ्चालन हुन्छन्। त्यहाँ शिक्षक-विद्यार्थीको ठूलो समूह (समाज) को उपस्थिति रहन्छ। साना-ठूला र फरक कक्षाका रुचि तथा क्षमतामा विविधता भएका विद्यार्थीहरूको सहयोग, सहकार्य, छलफल, संवाद, प्रस्तुति जस्ता क्रियाकलापले सामाजिक भावनालाई सुदृढ बनाउँछ।
(ख) प्रतिभा विकासको अवसर
व्यक्तिभित्रको विशिष्ट क्षमता वा बौद्धिकता प्रतिभा हो। व्यक्तिमा बहुबौद्धिकता हुन्छ र त्यसलाई फुल्ने र फक्रने अवसर दिइनुपर्छ। कक्षाकोठाको सीमित वातावरणमा विद्यार्थीका असीमित प्रतिभाहरू प्रस्फुटन हुन सक्दैनन्। विद्यार्थीरूपी बिरुवा र तिनको प्रतिभा फुल्न र खुल्न फराकिलो ठाउँ चाहिन्छ। त्यसका लागि अतिरिक्त क्रियाकलाप प्रमुख आधार बन्न सक्छन्। नाच्ने, गाउने, बजाउने, चित्र कोर्ने, सिर्जना गर्ने, खेल खेल्ने, दौडने, उफ्रने, नाघ्ने, वादविवाद गर्ने, भाषण दिने, सवाल-जवाफ गर्ने जस्ता विभिन्न गतिविधिमा सहभागी भई विद्यार्थीले आफ्नो क्षमता, प्रतिभा तिखार्ने मौका प्राप्त गर्दछन्।
(ग) आत्मविश्वासमा बढोत्तरी
विद्यार्थी वर्गले सिकाइमा आशातीत प्रगति गर्न नसक्नुको प्रमुख कारण आत्मविश्वासको कमी हो। अतिरिक्त क्रियाकलापले विद्यार्थीमा रहेको डर, सङ्कोच र हीनताको भावना हटाउँछ र क्रमशः निडर, संयमी र आत्मविश्वासयुक्त व्यक्तित्वको निर्माण गर्न सहयोग गर्दछ। प्रतिस्पर्धामा निरन्तर भाग लिंदा विद्यार्थी वर्गमा जितको आकांक्षा बढेर आउँछ र ऊ त्यसैका लागि क्रियाशील रहन्छ। अर्कोतर्फ, प्रतियोगितामा सहविजेता बन्दै गर्दा पनि उसमा धैर्यधारण गर्ने र अर्को अवसरमा अझ् राम्रो गर्ने सकारात्मक मनोदशामा आफूलाई व्यवस्थापन गर्न सक्छ। यसको आशय विद्यार्थीले प्रतिस्पर्धाको धर्म र मर्मलाई राम्ररी अँगाल्छ र आफूमा भएको अविश्वास हटाउँदै सकारात्मक मनोबलको विकास गर्दछ।
(घ) खोज अनुसन्धान र स्व–सिकाइ प्रवर्धन
सिकाइ कक्षाकोठा तथा पाठ्यपुस्तकमा मात्र सीमित हुँदैन। हामी सिकाइलाई कक्षाकोठा र पाठ्यपुस्तकमा मात्र सीमित गराउँछौं भने हाम्रा विद्यार्थीको ज्ञानको क्षितिज सङ्कीर्ण हुन्छ। हामीले त विद्यार्थीलाई ज्ञानको विशाल सागरभित्र डुबुल्की मार्न लगाई उनीहरूको अथाह शक्ति र क्षमतालाई उजागर गर्न सक्नुपर्छ। अतिरिक्त क्रियाकलाप विद्यार्थीलाई ज्ञान, सीप र अनुभवको विशाल सागरमा पुर्याउने र नयाँ-नयाँ अन्वेषण गर्ने अवसर हो। यस्ता क्रियाकलापको अभ्यास वा बानीले विद्यार्थी स्वयम् आफ्ना लागि आफैं कार्य गर्दछ अनि खोज अनुसन्धानतर्फ प्रवृत्त बन्दछ र आफ्ना लागि आफैंले सिक्ने बाटो तय गर्दछ।
(ङ) नेतृत्व क्षमताको विकास
अनुयायीलाई आफ्नो क्षमता र कार्यद्वारा प्रभावित गर्नु नेतृत्व हो। अतिरिक्त क्रियाकलाप विभिन्न सदन, समूह तह र कक्षाका विद्यार्थीहरूका बीचमा प्रतिस्पर्धात्मक रूपबाट सञ्चालन गरिन्छ। जसमा हरेक सदन र समूहमा सामूहिक नेतृत्वको अवसर प्राप्त हुन्छ। अर्कोतर्फ त्यस्ता क्रियाकलापको आयोजना, सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा विद्यार्थीहरूलाई नै दिंदा नेतृत्व क्षमता विकासको दायरा अझै फराकिलो बन्छ। विद्यालय तहबाट नै नेतृत्व क्षमता विकास गरेका विद्यार्थीहरू भविष्यमा विभिन्न सेवा, समूह तथा सामाजिक क्षेत्रमा रहेर नेतृत्व गर्ने, मानवीय सम्बन्ध विकास गर्न, समूह परिचालन, समाज तथा राष्ट्रको भलाइको लागि उच्चतम योगदान दिने संस्कारको विकासमा टेवा पुग्छ।
(च) शिक्षक–विद्यार्थी तथा विद्यार्थी-विद्यार्थीबीच सुमधुर सम्बन्ध
शिक्षक विद्यार्थी बीच आपसी विश्वास, माया र समझ्दारीपनको विकास हुनु सुमधुर सम्बन्ध हो। त्यस्तो सम्बन्ध विद्यार्थी विद्यार्थी बीच पनि हुनु जरूरी हुन्छ। सुमधुर सम्बन्धले आत्मीयता, प्रेम र सद्भावनाको विकास गर्ने हुँदा विद्यालयभित्र बालमैत्री तथा पारिवारिक वातावरणको निर्माण हुन्छ। निकटताको अवस्थाले सिकाइमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनले देखाएका छन्। कक्षामा विषयवस्तुको सीमाभित्र रहनुपर्ने बाध्यताका कारण शिक्षक-विद्यार्थी खुल्न र आत्मीयता विकास गर्न नसक्ने अवस्थालाई समेत अतिरिक्त क्रियाकलापले दूर गर्दछ । सुमधुर सम्बन्ध विकासले शिक्षक-विद्यार्थी एकअर्काप्रति उदार, सहयोगी र समर्पित रहने बाटो खुल्दछ।
(छ) संवेगात्मक नियमन तथा भावनात्मक शुद्धीकरण
मानिसभित्रका डर, रिस, क्रोध, डाहा, भय तथा प्रेम, उत्साह, प्रतिस्पर्धा जस्ता भावहरू संवेग हुन् । यस्ता संवेगहरू हर कोही मानिसमा मात्रात्मक अन्तरका साथ रहेका हुन्छन्। यिनको सन्तुलित विकास तथा नियमनका लागि खेलकुद, शारीरिक, बौद्धिक तथा सिर्जनात्मक क्रियाकलापहरूले ठूलो भूमिका खेल्छन्। जब व्यक्ति संवेगात्मक रूपमा स्वस्थ र सन्तुलित हुन्छ उसको भाव र भावनाको परिष्कार हुन्छ। उसका नकारात्मक वृत्तिहरू घटेर/हटेर जान्छन् र सकारात्मक वृत्तिहरूको बढोत्तरी हुँदै जान्छ। यसले व्यक्तिलाई अभ्यन्तरदेखि नै शुद्ध, प्रबुद्ध र असल संस्कारको बन्न सहयोग गर्दछ।
निष्कर्ष
विद्यार्थीलाई किताबका विषयवस्तुहरू पढाएर मात्र पुग्दैन। उनीहरू रहेको समाज, प्रकृति र संस्कृति चिनाउने अनि आत्मानुभूति पनि गराउनै पर्छ। विद्यार्थी आफैंमा विविधता, नवीनता र सिर्जनाको खानी हो। त्यसैले सर्वप्रथम उसको प्रतिभा र बहुबौद्धिकताको पहिचान हुनु जरूरी हुन्छ। तत्पश्चात्, सिकाइको योजना तथा कार्यक्रम निर्धारण गरी विशेष अवसर तथा परिस्थितिहरू सिर्जना गर्दै उसलाई क्षमता र प्रतिभा विकास गर्ने मौका दिनुपर्छ। त्यस्ता बहुआयामिक पक्षहरूलाई समेट्ने र विद्यार्थीको सर्वतोमुखी विकास गर्ने दिशामा अतिरिक्त क्रियाकलाप अत्यन्तै उपयोगी र सान्दर्भिक हुन्छन्।
(जनकल्याण मावि, जलजला-८, पर्वत)



